Incident Reports

हत्या घटनाका दोषीलाई २० वर्षकैद सजाय

2015-12-06

Karnali, Humla, Simkot, Ward 9

दार्मा गाविस-१ निवासी काङ्ग्रेस (प्र) का जिल्ला कमिटी सदस्य ३० वर्षीय नेत्रबहादुर शाहीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताद्वारा अपहरण गरी हत्या गरिएको घटनाका आरोपितलाई जिल्ला अदालतले मङ्सिर १८ गते २० वर्षकैद सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजालसले घटनाका आरोपितलाई दोषी ठहर गर्दै उक्त मुद्दाको फैसला गरेको हो । श्रीमष्ठा गाविसको दर्बी भन्ने ठाउँबाट ०६३ फागुन २६ गते दिउँसो अपहरण गरी सोही दिन हत्या गरेको भन्दै नेत्रबहादुरका भाइ प्यारीलाल शाहीले नेकपा माओवादीका तत्कालीन जिल्ला कमिटी सदस्यहरू बराई गाविस-२ निवासी ३३ वर्षीय कमल ऐडी (बसन्त), श्रीमष्ठा गाविस-१ निवासी ६६ वर्षीय शेरबहादुर पाल र सर्किदेउ गाविस-२ निवासी ३२ वर्षीय चन्द्रसिंह कार्की विरूद्ध जाहेरी दिएका थिए । आरोपितमध्ये कमललाई २० वर्षकैद, शेरबहादुरलाई ५ वर्षकैद सजाय र अर्का आरोपित चन्द्रसिंहलाई सफाई दिएको जिल्ला अदालतका वैतनिक कानुन व्यवसायी देवीशरण फडेराले जानकारी दिए । प्रहरीले घटनाका आरोपित शेरबहादुरलाई ०७१ असोज १० गते र चन्द्रसिंहलाई ०७२ वैशाख २२ गिरफ्तार गरेको थियो । आरोपित कमल ऐडीलाई डोल्पा जिल्ला अदालतबाट चलान गरिएको जिल्ला अदालत हुम्लाले जनाएको छ । हुम्ला जिल्ला अदालतले गरेको फैसला उपर चित्त नबुझे फैसला भएको मितिले ७० दिन भित्रमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेको वैतनिक कानुन व्यवसायी देवीशरण फडेराले बताए । पीडितको शव ०६४ असार ४ गते श्रीनगर गाविसको जिउला डोप्का नदी किनारमा फेला परेको इन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्षुस्तक २००८ मा उल्लेख छ । सुरेश परियार

0 Comments

Related Reports