Incident Reports

सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्न पीडित परिवारको माग

2016-02-07

Gandaki, Tanahun, Myagde

छाङ गाविस-९ को साउनेपानीमा आठ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको १५ औँ वर्षको सन्दर्भमा ०७२ माघ २३ गते जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा पीडित परिवारले हत्यामा संलग्नहरूलाई कानुनी कारवाहीको माग गरेका छन् । २०५८ माघ २३ गते संयुक्त सुरक्षा फौजले निशस्त्र अवस्थामा रहेका बेला घेरा हाली रिस्ती गाविस-१ भरतचन्द्र अधिकारी, उनकी पत्नि कलावती अधिकारी, पुर्कोट गविस-६ का कलावती पौडेल, खैरेनीटार-६ जाम्दीकी सन्तोषी बराल, श्याम्घा-३ का बनबहादुर कुमाल, खैरेनीटार-९ की गीता विक, मिर्लुङ्ग-३ घलेछापका गणेश परियार र गोरखाका सन्देश भनिने माओवादी कार्यकर्ताहरूको हत्या गरेको थियो । स्मृति दिवसको सन्दर्भमा नेकपा क्रान्तिकारी माओवादीको आयोजना र स्थानीय सहिद परिवारको संयोजनमा माघ २३ गते श्याम्घा, रिस्ती, मिर्लुङ शुक्लागण्डकीको खैरेनीटार र पुर्कोटमा स्मृति सभा आयोजना गरिएको थियो । माओवादी सशस्त्र द्वन्द्वको क्रममा जिल्लामा माओवादीतर्फ सर्वाधिक क्षति भएको घटनाको रूपमा यस घटनालाई लिईएको छ । यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमै गम्भीर मानवअधिकारको हनन् भएको घटनाको रूपमा लिइएको छ । सो घटनामा मृत्यु हुने सन्तोषी र गीता बालिका हुन् । सो घटनामा सुरक्षाकर्मी तर्फभने कुनै पनि क्षति भएको थिएन । घटना भएको १५ वर्षबितिसक्दा पनि पीडकलाई कुनै कारबाही नभएकोमा पीडितका परिवारले गुनासो गरेका छन् । उक्त गैरन्यायिक हत्यामा संलग्नहरूलाई कारबाही गर्नु पर्ने उनीहरूको माग समेत रहेको छ । युद्धको नियम उल्लङ्घन गर्दै सुरक्षाकर्मीले निशस्त्र माओवादी कार्यकर्ताको हत्या गरेको हुँदा उक्त घटनामा संलग्नहरूलाई कारबाही गरिनुपर्ने मृतक भरतचन्द्र अधिकारीका बुवा होमनाथ अधिकारीले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भए पनि हालसम्म पीडितको घर परिवारसम्म नआएको हुँदा कतै यस्ता गम्भीर अपराधका घटनाका पीडितहरूले माफी पाउन सक्ने अधिकारीले चिन्ता व्यक्त गरे । मृतक परिवारलाई सरकारको तर्फबाट हालसम्म तीन तीन लाख रुपियाँ मात्र प्रदान गरिएको छ । त्यस बाहेक अन्य सहयोग प्राप्त भएको छैन । सो घटनामा तत्कालीन सरकार नै जिम्मेवार भएको तत्कालीन द्वन्द्वरत माओवादीले ठहर गरेको छ । नेकपा क्रान्तिकारी माओवादी तनहुँका संयोजक अतिन्द्रकेशरी न्यौपाने तत्कालीन सरकारकै निर्देशन र योजनामा सो घटना भएको हुँदा त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

0 Comments

Related Reports