Incident Reports

‘सास देऊ कि लास’

2016-04-19

‘फुपूको घरमा जान्छु भनेपछि ११ वर्षकी छोरीलाई हरिचौर पठाएकी थिएँ, छिमेकीसँगै गएका बेला सेनाले पक्रेर बेपत्ता बनायो,’ नरेठाँटी २ की ५१ वर्षीया सरस्वती विकले भनिन् । बेपत्ता छोरी कतै नभेटेपछि बेपत्ता आयोगमा उजुरी दर्ता गर्न सोमबार सदरमुकाम आएकी उनले थपिन्, ‘१४ वर्ष भयो, न लास पाइयो न त सास ।’ उनी ४० किमि पश्चिमबाट हिँडेरै सदरमुकाम आएकी हुन् । छोरी पत्ता लगाइदिन आग्रह गर्दै सोमबार स्थानीय शान्ति समितिमा उजुरी दिइन् । छोरीकै पीरमा उनका पति हरिलालमा आत्तिएर र झर्केर बोल्ने बानी परेको छ । रक्सी पिउने, बरबराउँदै हिँड्ने गरेकाले ज्याला मजदुरी गरेको दुईचार पैसा पनि बचाउन नसकेको विकले गुनासो पोखिन् । दुई छाक खान मजदुरी गर्न बाध्य विक दम्पतीले भोकभोकै धेरैपटक सेना र प्रहरीमा धाएर पनि पत्तो लगाउन नसकेका हुन् । ‘मानव अधिकारवादीले राहतका लागि पहल गरिदिएका छन्, अरूबाट सहयोग पाइएन,’ उनले भनिन् । विक दम्पतीले मजदुरी गरेकै भरमा कान्छी छोरी अमृतालाई पढाउन सकेका छैनन् । छोरा यामबहादुर पनि मानसिक रोगी भएकाले उनीहरू पीडामा छन् । समितिले पहिलो दिन सोमबारदेखि मात्र निवेदन लिन थालेको सचिव लक्ष्मीकुमारी शर्माले बताइन् । ‘पहिलो निवेदन नै विकको आएको छ,’ शर्माले भनिन्, ‘धेरैले फोन गरेर निवेदन ल्याउँदै छौं भनेका छन् ।’ समितिको तथ्यांकअनुसार बागलुङमा २४ बेपत्ता परिवारले प्रारम्भिक राहत बुझेका छन् भने एक जनाले अझै राहत पाएका छैनन् । सशस्त्र द्वन्द्वको समयमा एक सय ३९ जनाको मृत्यु भएको थियो भने एक सय दुई जना अपहरणमा परेका थिए । शर्माका अनुसार विस्थापित ७९, अंगभंग २३ र घाइते ५३ जना छन् । यस्तै, ४१ बालबालिकाका बाबुआमाकै मृत्यु भएकाले सोही शीर्षकको छात्रवृत्ति पाएका छन् । घरबाटै सेनाले अपहरण गरेर बेपत्ता बनाएको भन्दै बागलुङ नगरपालिका २ की जसोदा शर्माले पनि समितिमा उजुरी दर्ता गरेकी छन् । उनका पति सूर्यप्रसादलाई सेनाले ०५८ फागुनमा सुतेकै अवस्थामा पक्राउ गरी ब्यारेकमा लगेपछि बेपत्ता बनाएको थियो । उनले अन्तर्राष्ट्रिय मानव अधिकार समितिमा उजुरी गरेकी थिइन् । समिति र सर्वोच्च अदालतले बेपत्ताको खोजी गर्न निर्देशन दिए पनि हालसम्म खोजी भएको छैन ।

0 Comments

Related Reports